Saturday, 17 October 2015

बाबुरामले भने, 'अब नेतृत्व म गर्छु'

नयाँ शक्तिमा कांग्रेस, एमाले र एमाओवादीलगायत सबैतिरबाट सहभागी हुन्छन्

 विराटनगर : एमाओवादी छोडेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले अब मुलुक आर्थिक विकास र राष्ट्रिय उन्नतिको चरण सुरु हुने र त्यसको नेतृत्व आफूले गर्ने बताएका छन् ।

 मधेसका बुद्धिजीवीहरुसँगको छलफलका लागि शनिबार विराटनगर आइपुगेका भट्टराईले विराटनगरमा विमानस्थलमा संचारकर्मीसँग भने, 'मुलुकमा नयाँ संविधान आएको छ। गणतन्त्र र संघीयता संस्थागत भएको छ। राजनीतिक आन्दोलनको चरण सकियो। अब आर्थिक विकास र राष्ट्रिय उन्नतिको चरण सुरु हुन्छ। त्यसको नेतृत्व मैलै गर्छु ।'

 भट्टराईले आर्थिक विकासको अबको चरणको नेतृत्व पुराना शक्ति र सोचबाट संभव नभएको बताउँदै भने, 'आर्थिक विकासको अभियानको नेतृत्व पुराना सोच र शैली भएका पार्टी तथा शक्तिबाट संभव छैन। नयाँ शक्ति आवश्यक छ । त्यही नयाँ शक्ति निर्माणमा म जुटेको छु।

 उनले नयाँ शक्ति निर्माणको अभियान लिएर आफू देश दौडाहमा निस्केको बताउँदै भने, 'यो अभियानमा एमाओवादी, एमाले र कांग्रेसलगायतका सबैतिरबाट मानिस आउँछन् । यही शक्तिले भोलिको नेपाललाई हाँक्ने छ।'

 उनले अब राजनीतिक किचलो र सत्ता खेलमा भन्दा मुलुकको आर्थिक विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिदै भने, 'अबको राजनीति त्यसकै लागि केन्द्रित हुन्छ। मैले पार्टी छोडे पनि राजनीतिबाट अलग भएको छैन।'

No comments:

Post a Comment