Sunday, 18 October 2015

‘व्यथा सहिन्छ, दसैं मानिन्छ’

कार्तिक १, २०७२- बुद्धनगरमा बस्दै आएकी सुमित्रा खरेल शनिबार दसैंको किनमेल गर्न बजार निस्किन्, तर अत्यधिक भीडभाडका कारण छोराछोरी र आफ्ना लागि लुगा किन्न नसकेर फर्किन्। बिदाको दिन परेकाले बजारभरि किनमेल गर्नेको उपस्थिति बाक्लै थियो। भूकम्प प्रभावित जिल्लाका बासिन्दाहरू ‘पीडा बिर्सन’ परिवारका सबै सदस्य भेला भएर दसैं मनाउने तयारीमा छन्।
 सुमित्रा पनि काभ्रेको खरेलथोक जाने तयारीमा छिन्। भूकम्पले घर भत्किए पनि छाप्रोमै दसैं मनाउने योजना छ। ‘घर भत्किए पनि परिवारसँगै बसेर दसैं मनाउनेछौं,’ उनले भनिन्, ‘सबै भेला हुँदा पीडा बिर्सिइन्छ।’ राजधानीबाट बाहिरिने धेरैले किनमेल सकाइसके। काठमाडौं काँडाघारीका भूपेन्द्र पाण्डेको दोलखा बाबरे र सिंगटीको दुवै घर भूकम्पले भत्किएको छ। तर, दसैं मनाउन गाउँ जाँदै छन्। ‘घर भत्किए पनि छाप्रो बनाएका छौं,’ कुमारी बैंकका जागिरे उनले भने, ‘जस्तोसुकै पीडा भए पनि परिवारसँगै दसैं मनाउनुको बेग्लै मज्जा हुन्छ।’ काँडाघारीको घरमा क्षति भएको छैन। तर, उनीहरूको परिवार गाउँमै भेला भएर दसैं मनाउन लागेका हुन्। आफन्तसँगको भेटघाटले पीडा बिर्साउने उनले बताए। किनमेल गर्न सुन्धारा पुगेकामा सिन्धुलीका रमेश कार्कीले घर जान किनमेल सकाएको बताए। विगतभन्दा महँगो भएको उनले बताए। आफूले चाहेजस्ता रोजेर किन्ने सामान पाउन मुस्किल भएको गुनासो उनको थियो। बीपी राजमार्गमा चल्ने सवारीको टिकट लिइसकेका उनले अरूबेला नगए पनि यसपालि सबै परिवार भेला हुनुपर्ने बताए। ‘भूकम्पले घर भत्किएपछि बुबाआमा चिन्तित हुनुहुन्छ,’ उनले भने, ‘उहाँहरूलाई खुसी पार्न भए पनि छोराछोरी जानै पर्‍यो नि।’ घर फर्कनेको लर्को पनि केही दिनयता ह्वात्तै बढेको छ। टिकट नपाएपछि झुन्डिएर र छतमा बसेर गन्तव्यतर्फ गइरहेका छन्। सोमबारसम्म कार्यालय खुल्ने भएकाले धेरैजसो फूलपातीको दिन बाहिरिन्छन्। पुरानो र नयाँ बसपार्कमा टिकट लिन घण्टौं लाइन बसेर सास्ती पाइरहेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाबाहिर दैनिक सरदर ३५ हजार यात्रु बाहिरिने गरेका छन्। नाकाबन्दीले पेट्रोलियम पदार्थ सहजै नपाउने भएपछि यात्रुवाहक सवारीमा छतको जोखिमपूर्ण यात्रा गरेर भए पनि घर फर्किरहेका छन्। एक साता अघिसम्म दैनिक ३ हजारको हाराहरीमा सवारीका साधन राजधानीबाट बाहिरिने गरेकोमा दुई दिनयता चार हजारभन्दा बढी छन्। दसैं मनाउन उपत्यबाट बाहिरिनेभन्दा आउने यात्रुको संख्या बढी छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यका भित्रिने यात्रुको संख्या ८० हजार हाराहारीमा भए पनि बाहिरिनेको संख्या सरदर ३५ हजार मात्रै छ। आइतबारदेखि बाहिरिनेको संख्या बढ्ने अनुमान गरिएको छ। राजधानीकै स्थानीय पनि धराप घरमा जमरा राखेर दसैं मनाउँदै छन्। भक्तपुर क्वाठन्डोका रेनुका सुवाल आचार्यको घर भत्किए पनि जमरा राख्न पालको बसाइ छाडेर फर्केको बताइन्। उनको परिवार कमलविनायक शिविरमा बस्थे। ‘ग्यास पनि सकियो, पालमा आगो फुक्न नमिल्ने भएपछि धराप घरमै फर्कियौं,’ उनले भनिन्, ‘यसपालि दसैं मनाए पनि पाहुनाचाहिँ बोलाउँदैनौं।’ भक्तपुर वंशगोपालका कपडा व्यापारी सानु श्रेष्ठले विगतको जस्तो किनमेल गर्नेको चहलपहल नभएको बताए। उनी पनि भूकम्पपीडित हुन्। भूकम्पले घर चर्किएपछि पाल हालेर खुला ठाउँमा बसेका थिए, दसैंमा जमरा राख्न उनी भत्किएकै घरमा फर्किका हुन्। ‘भूकम्पले घर भत्किएको छैन तर बस्न पनि मिल्दैन,’ उनले भने, ‘त्यही घरको छिँडीमा बसेका छौं। कुलघरमा जमरा राख्नुपर्ने भएकाले पाल छाडेर आयौं।’ यसपालिको दसैं खल्लो हुने उनले बताए। सल्लाघारीकी बालिका गुरुङले पनि यसपालिको दसैं विगतजस्तो रमझम नभएको सुनाइन्। उनी विगतमा खासाबाट सामान ल्याएर बिक्री गर्थिन्। यसपालि चीनबाट जहाजमा ल्याउँदा महँगो परेको सुनाइन्। राजधानीकै होलसेल पसलबाट सामान ल्याउन पनि सवारी नपाइने समस्या रहेको बताइन्। भूकम्पले घर भत्किएपछि कतिपयले त दसैं मनाउने कि नमनाउने भन्ने अन्योल नै छ। मनाए पनि टीका लगाउने तर, आफन्तलाई भोज नखुवाउने सोचमा धेरै छन्। ललितपुरको मुख्य व्यापारिक क्षेत्र भने सुनसान छ। गत वर्ष यो बेलामा दैनिक कम्तीमा एक लाखसम्म व्यापार हुने गरेकोमा यसपालि दैनिक ३० हजार पनि नभएको लगनखेलका होलसेल व्यापारी विक्रम नेपालीले बताए। ‘विगतको दसैंमा उभिने ठाउँ हुँदैनथ्यो,’ उनले भने, ‘पैसा तिर्नेको लाइन लाग्थ्यो। तर यसपालि खासै चहलपहलै छैन।’ शनिबार उनी मोबाइल चलाएर बसेका थिए। उपत्यकाबाट बाहिरिने सर्वसाधारणले पनि सामान किनमेल कमै गरेको अर्का व्यापारी भगत घिमिरेले बताए। ‘पाँचजना स्टाफले समेत व्यापार गर्न भ्याइनभ्याई हुनेमा अहिले दुईजना स्टाफ पनि खाली बस्नुपरेको छ,’ उनले भने, ‘बजारमा नयाँ डिजाइनका सामानहरू पनि कमै मात्रामा आएको छ।’ लगनखेल, मंगलबजार लगायतको बजारमा विगतजस्तो सर्वसाधारणको भीडभाड छैन। सोचेजस्तो व्यापार नभएको भन्दै व्यापारी खिन्न छन्। ‘गत वर्षको तुलनामा ७० प्रतिशत व्यापार कम छ,’ राजेश न्याछ्योले भने।

No comments:

Post a Comment