Saturday, 17 October 2015

टीकापुर घटनामा परी निधन भएका प्रहरीका परिवारलाई १० लाख क्षतिपूर्ति प्रदान

धनगढी

– कैलालीको टीकापुरमा गत भदौ ७ गते भएको हिंसात्मक घटनामा परी निधन भएका तीन जना प्रहरीका परिवारलाई सरकारबाट प्राप्त नगद रकम प्रदान गरिएको छ । प्रहरी दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रहरी नायब महानिरीक्षक माधव नेपालले उक्त घटनामा कर्तव्यपालनको सिलसिलामा ज्यान गुमाउने प्रहरी सहायक निरीक्षकद्वय श्याम खड्काकी श्रीमती लक्ष्मीदेवी खड्का र जनक नेगीकी श्रीमती नारुदेवी नेगी र प्रहरी हवल्दार लोकेन्द्रबहादुर चन्दकी श्रीमती पशुपति चन्दलाई जनही रु १० लाख र कदरपत्र प्रदान गरे । सोही कार्यक्रममा उत्कृष्ट कार्य गरेको भन्दै प्रहरी अधिकृत विश्वराज खड्का, जगन्नाथ खनाल र चेतबहादुर बुढाऐरलाई सम्मानित गरिएको थियो । समारोहमा शान्ति सुरक्षा कायम राख्न प्रहरीलाई महत्वपूर्ण सहयोग गरेवापत बाजुराका कल्चे दमाईं र नेपाल विद्युत् प्राधिकरण टीकापुरका कर्मचारी राजेन्द्र रावललाई पनि सम्मानित गरिएको थियो । सो अवसरमा वक्ताले कर्तव्यपालनको सिलसिलामा वीरगति प्राप्त गर्ने प्रहरीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए । जिल्ला न्यायाधीश यज्ञराज भट्ट, प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईं ,प्रहरी नायब महानिरीक्षक माधव नेपाल, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र विष्ट, पत्रकार भरत शाहलगायतले नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षा प्रदान गर्न खेलेको भूमिका माथि प्रकाश पारेका थिए ।

No comments:

Post a Comment