नेपालले आउँदो वर्ष बंगलादेशमा हुने आईसीसी यु १९ विश्वकपमा लगभग छनोट भएको छ । नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार उपाधिको दावेदार आयरल्याण्डबिरुद्ध सानदार जीत दर्ता गराएको छ ।
समूह चरणका सबै खेलमा विपक्षीमाथि पूर्णरुपमा हावी भएको नेपालले आयरल्याण्डबिरुद्ध ८ विकेटको जीत दर्ता गरेको हो ।आयरल्याण्डले दिएको १८५ रनको विजयी लक्ष्य नेपालले ४२.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डलाई सस्तैमा समेट्ने क्रममा नेपालका प्रेम तामाङले ४ विकेट लिए भने ललित राजवंशीले २ तथा सुशील कँडेलले १ विकेट लिए ।
आयरल्याण्डले ५० ओभर खेल्दै ७ विकेटको क्षतिमा १८४ रन बनाएको हो । आयरल्याण्डका लागि एरोन गिलस्पेले ५८ तथा ज्याक टेक्कटरले ४६ रन बनाए भने टोम स्टान्टमले ३० रनको योगदान दिएका थिए । आयरल्याण्डले दिएको १८५ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा नेपालका प्रारम्भिक ब्याट्सम्यान सन्दीप सुनार र सुनील धमाले अर्धशतकीय पारी खेलेपछि सहज जीतको अवस्था बनेको हो ।
सन्दीपले ८५ र सुनीलले ७५ रन बनाएर आउट भए भने त्यसपछि ब्याटिङमा आएका कप्तान राजु रिजालले विजयी छक्का प्रहार गरी १६ रन बनाए भने योगेन्द्रसिं कार्की चार जनमा अविजीत रहे । निर्धारित ५० ओभरको खेलमा नेपालले ४३ बल बाँकी छँदै विजयी लक्ष्य पूरा गरेको हो ।
या विजयसंगै नेपाल ५ राष्ट्र सम्मिलित खेलमा शीर्षस्थानमा रहेको छ । अब नेपालले उपाधीका लागि आयरल्याण्डसंगै प्रतिस्पर्धा गर्नेछ । प्रतियोगताको शर्ष टोलीले यु १९ विश्वकप खेल्नेछ ।
No comments:
Post a Comment