Tuesday, 20 October 2015

दलित महिलाबाट जन्मिएका छोरालाई मन्त्री कृपाशुर शेर्पाको धम्की – ‘मेरो पछि नलाग, ज्यानै लिन सक्छु’

मेरो नाम गणेश शेर्पा हो । बुबा कृपासुर शेर्पा र आमा धनमाया दर्नाल हुन् । जागिरको सिलसिलामा बुबा कृपासुर ताप्लेजुङ सदरमुकाम फुङलिङमा जानुभएको रहेछ, बुबाले फुङलिङमा सूर्यमान गुरुङको घरमा डेरा गरी बस्नुभएको रहेछ उतिवेला । त्यहीवेला मेरी आमा धनमायासँग प्रेमविवाह पनि गर्नुभएछ । उहाँहरूको सम्बन्धबाट म २०३७ मंसिर १ मा जन्मेको हुँ । औपचारिक विवाह नभएकी महिलाबाट बच्चा जन्मेपछि छरछिमेकी र चिनेजानेका सबैले आमालाई सोधेछन्– यो बच्चाको बाउ को हो ? आमाले जवाफ दिनुभएछ– कृपासुर शेर्पा । मैले थाहा पाउँदा सबैले आमाको कुरा काट्थे । सबैले मलाई बाउ नभएको केटो भन्थे । अरू के–के भन्थे, म सानो छँदा सबै थाहा हुने कुरा पनि भएन । आमा–बुबाबीच विवाहले वैधानिकता पाएको रहेनछ । यही मारमा म पनि परेँ, आमा पनि पर्नुभयो वैधानिक विवाह नभई बच्चा जन्मेको भनेर गाउँघरमा आमाले अपमान सहनुपर्‍यो । आमा माइत बस्नुभएको थियो । हामीले सबैको हेला सहनुपर्‍यो । म जन्मेपछि बाबा फुङलिङबाट भागेर हिँड्नुभएछ । आमाले अवहेलना सहेर भए पनि मलाई हुर्काउनुभयो । माइती बसेर मलाई बढाउनुभयो । आमासँग पैसा थिएन । अरूको काम गरेर नै मलाई हुर्काउनुभयो । आमा अरूको घरमा काम गर्न गएको म पनि देख्थेँ । म पनि आमाको पछि–पछि जान्थेँ । म सात–आठ वर्षको हुँदा बुबाबारे केही कुरा थाहा पाएँ । जिल्लामा एकजना पूर्वमन्त्री हुनुहुन्थ्यो विष्णु मादेन । उहाँले ‘तेरो बुबा काठमाडौंमा छ, जानुपर्छ, म तलाई काठमाडौं लैजान्छु’ भन्नुभएको थियो । त्यतिवेलादेखि नै हामीले उहाँलाई खोज्न थालेका हौँ । मेरा दुईजना मामा ब्रिटिस आर्मीमा हुनुहुन्थ्यो । उहाँहरूले पनि मेरो बुबा खोज्न पहल गर्नुभएको थियो । तर, हामीले बुबालाई भेटाउन सकेका थिएनौँ । कान्छो मामाले धेरै मिहिनेत गर्नुभयो बुबा खोज्न । उहाँले हामीलाई धेरै माया पनि गर्नुहुन्थ्यो । माइतीघरमा आमालाई हेर्ने नजर सबैको एउटै थिएन । कसैले माया गर्नुहुन्थ्यो, कसैले हेला । म १० वर्षको हुँदा मामाले मलाई काठमाडौं ल्याउनुभयो । मामाकी छोरी वीर अस्पतालमा काम गर्नुहुन्थ्यो । उहाँले बुबालाई चिन्नुभएको रहेछ । बुबाले काम गर्ने भन्सार अफिस पनि थाहा रहेछ । मामाले सबै परिवारसहित हामीलाई बुबाको कार्यालय भन्सार लैजानुभयो । हामीलाई देखेपछि बुबा एकाएक तर्सिनुभयो । ‘केही होइन, केही होइन, किन यहाँ आएको,’ भनेर उल्टै हप्काउनुभयो । बुबाले मामाको घरको टेलिफोन लिनुभयो । पछि, उहाँले के कुरा गर्नुभयो ? थाहा भएन । म सानै थिएँ । सबै कुरा थाहा हुने अवस्था पनि थिएन । त्यसपछि भने हाम्रो बुबासँग आवतजावत र भेटघाट हुन थाल्यो । त्यसपछि उहाँले सहयोग गर्न पनि थाल्नुभयो । खाना खर्च दिन थाल्नुभयो । पछि, बुझ्दै जाँदा थाहा भयो– उहाँले पहिला नै दुईवटा विवाह गर्नुभएको रहेछ । उहाँको यस्तो कुरा थाहा पाएपछि आमाले ‘किन झुटो बोलेको’ भनेर प्रश्न गर्नुभयो । बुबाले ‘जे भयो भयो, अब यसलाई हल्लाखल्ला नगर’ भन्नुभएको आमाले मलाई सुनाउनुभएको थियो । गएको आठ–नौ वर्ष बुबाले हामीलाई सहयोग गरे पनि त्यसपछि उहाँ हाम्रो सम्पर्कमा आउन चाहनुभएन । हामीले फोनमा कुराकानी गरेर आफ्ना कुरा राख्यौँ । ‘हामीलाई हेरचाह गर्नुहोस्, खान–लाउन दिनुहोस्, छोराको नागरिकता बनाइदिनुहोस्, अंश पनि दिनुहोस्’ भन्यौँ । तर, उहाँले ‘तिमीहरू मेरा केही होइनौ, जे सक्छौ गर’ भन्नुभयो । उहाँले आफ्नो भूमिका निभाउनेतिर ध्यानै दिनुभएन ।


 हामी अधिकारका लागि लडेका थियौँ । अधिकार खोज्न काठमाडौं–२ मा आयौँ र डेरा गरी बस्न लाग्यौँ । उहाँको खोजीकै लागि हामी यहाँ ०६७ पुसदेखि काठमाडौं बस्दै आएका छौँ । यहाँ आएपछि हामीले बुबालाई भेट्यौँ । ‘अब हामीलाई तपाईंसँगै घरमा राख्नुहोस्’ भन्यौँ । उहाँ ‘आज, भोलि, पर्सि हुन्छ’ भन्दै हामीलाई भुलाइरहनुभयो । हामीले पटक–पटक भन्दा मान्नुभएन । उहाँले पछि–पछि त ‘तिमीहरूलाई अंश पनि दिन्नँ, तिमीहरू मेरो पछि नलाग, मेरा पछि लागे जे पनि हुन सक्छ’ भन्दै धम्की दिन थाल्नुभयो । त्यसपछि बाध्य भएर मैले उहाँविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेँ । यो पोहोर सालको चुनावअगाडिको कुरा हो । मुद्दाको म्याद उहाँले बुझ्नु पनि भयो । त्यसपछि उहाँ ‘आमा र म बसेको ठाँउमा आएर रुनुभयो ।’ उहाँले ‘म संविधानसभा सदस्य हुँ , मन्त्री हुने पालो आएको छ, यो केसले गाह्रो हुन्छ, मन्त्री हुनबाट नरोक’ भन्नुभयो । त्यसवेला उहाँले एक महिनाभित्र नागरिकता बनाइदिने, घर किनदिने भन्नुभयो । आमाले पनि विश्वास गर्नुभयो । ‘ठीक छ, तपाईंले हामीलाई स्वीकार गर्नुहुन्छ भने हामी तपार्इंलाई अप्ठ्यारो पार्दैनौँ, मिलेर जान्छौँ’ भन्यौँ । यसैका आधारमा हामीले ०७१ पुस १८ मा काठमाडौं जिल्ला अदालतमा चलेको अंशमुद्दामा मिलापत्र गर्‍यौँ । मिलापत्र गर्दा उहाँले नै आफैं वकिल खोजेर कागज बनाएर ल्याउनुभएको थियो । यसरी कागज नै गरेपछि अब हाम्रो समस्या हल हुन्छ कि भन्ने आशा गरेका थियौँ । तर, उहाँ आफैँले भनेको समयमा नागरिकता बनाइदिनुभएन । अंश दिने कुरा पनि केही गर्नुभएन । मुद्दा फिर्ता लिएपछि पनि ‘तपाईंले भनेको काम गर्नुभएन’ भनेर सोध्यौँ । त्यसपछि उहाँले उल्टै धम्की दिन थाल्नुभयो । उहाँले भन्नुभयो, ‘तिमीहरूले मुद्दा फिर्ता लिइहाल्यौ, तिमीहरू मेरा केही पनि होइनौ, तिमीहरूले अब अंश पाउँदैनौ, मुद्दा हाले पनि कमजोर हुन्छ, अहिले मसँग घर किन्ने पैसा पनि छैन, मन्त्री भएपछि पैसा होला, म तिमीहरूलाई चिन्दिनँ ।’ उहाँको यस्तो धम्की आएपछि हामीले फेरि कानुनी बाटोमा जाने निर्णय गर्‍यौं र ०७१ माघ २३ मा पुन: उक्त मुद्दाको प्रक्रिया अगाडि बढायौँ । काठमाडौं जिल्ला अदालतमा यो मुद्दा अहिले पनि विचाराधीन छ । हामीले मुद्दा अगाडि बढाएपछि उहाँले धम्की दिन थाल्नुभयो । विभिन्न अपरिचित व्यक्तिहरू पठाउने र धम्क्याउने काम गर्नुभयो । उहाँ आफैं आएर ‘म अहिले माननीय छु, गृहमन्त्री मेरो आफ्नै पार्टीको मान्छे हो, म पनि केही समयपछि मन्त्री हुँदै छु । तँलगायत तेरी आमालाई तुरुन्त सिध्याइदिन सक्छु, हातखुट्टा भाँच्न सक्छु’ भन्नुभयो । त्यसपछि मैले मेरो जिउधनको सुरक्षा पाऊँ भन्दै विभिन्न पार्टीका नेताहरू, आयोग र संघसंस्थालाई निवेदन दिएको छु । गृह प्रशासनको आडमा कतै हामीमाथि खतरा हुने हो कि भन्ने चिन्ता लागेको छ । ‘तँ पत्रकारकहाँ गए पनि केही फरक पर्दैन, म उनीहरूलाई किन्छु’ भन्नुहुन्थ्यो । त्यही भएर म बाहिर गएको थिइनँ । एकजना पत्रकारले धोका पनि दिएका थिए मलाई । अहिले मन्त्री भएपछि कुरा उठेको भन्ने होइन । म १५ वर्षको भएदेखि नै अधिकारका लागि लडेको छु । मिडियामा अहिले मात्र आएको हो । विगतमा बुबाले हामीलाई सहयोग पनि गर्नुभएको छ । भेट्दा सधैं ५–१० हजार दिनुहुन्थ्यो । विवाह गर्दा पनि सहयोग गर्नुभयो । सबै कुरा पैसा होइन । म ३५ वर्षको भएँ, अहिलेसम्म म नेपाली नागरिक हुन सकेको छैन । मेरा पनि एक छोरी र छोरा छन् । उनीहरूले भोलि मलाई के भन्लान् ? अहिले घरजग्गा किनबेच गराएर, एक–दुईजना मानिस विदेश पठाउन सहयोग गरेर खर्च चलाएको छु । मलाई उहाँले छोरा भनेर स्वीकार गर्नुपर्छ । मेरो नागरिकता बनाइदिनुपर्छ । अरू कुरा त म बिस्तारै व्यवस्था पनि गरुँला । आमा अहिले हुनुहुन्छ । डेरामा छौँ । म आमाको उपचारतिर लागूँ कि अदालततिर ? बुबाले भन्नुपर्‍यो । विगतमा बुबाले स्वीकार नगरेपछि आमाले धेरै रक्सी पिउनुभयो । आमाले बजारमै हल्ला पनि गर्नुहुन्थ्यो । उहाँको मनमा यति धेरै पीडा छ, म व्याख्या गर्न सक्दिनँ । मानिस मेरी आमालाई नकारात्मक तरिकाले हेर्थे । आमा एक्लै लड्न सक्नुभएन । मैले उहाँको लडाइँलाई निरन्तरता दिएको छु । नागरिकता नपाएसम्म म लडिरहन्छु । आमा ६७ वर्षको हुनुभयो । अहिले बोल्न नसक्ने अवस्थामा हुनुहुन्छ । दुवै हातका औँला छैनन् । गाउँमा ढिकीले किचेको, राम्रो उपचार भएन । उहाँका सबै औँला झरे । फुङलिङ गाविसले दिएको जन्म सिफारिस र मैले पाँच कक्षासम्म पढेको श्री बालमन्दिर प्राथमिक विद्यालय फुङलिङले दिएको प्रमाणपत्रमा मेरो बुबाको नाम कृपासुर शेर्पा लेखिएको छ । अहिले बुबा मन्त्री हुनुभयो । हामीले खुसी मनाउन पाएनौँ । नागरिकता छैन, सिंहदरबार पस्न सकेका छैनौँ । मलाई केही भयो भने मेरा छोराछोरीको अवस्था के हुन्छ ? के उनीहरू यो देशका नागरिक हुन नपाउने हो ? म प्रधानमन्त्रीज्यूलाई पनि आग्रह गर्छु– मेरा बुबा तपार्इंको सरकारमा मन्त्री हुनुहुन्छ, मलाई न्याय दिनुहोस् । एमाले अध्यक्ष केपी ओलीसँग पनि मेरो आग्रह छ, तपाईंको पार्टीले मलाई न्याय दिलाओस् । म डिएनए टेस्ट गर्न चुनौती दिन्छु ।

 (आफूलाई पर्यटनमन्त्री कृपासुर शेर्पाको छोरा बताउने गणेशले नयाँ पत्रिकासँग गरेको कुराकानी र उनले विभिन्न राजनीतिक दल, संघसंस्था र निकायमा न्याय पाऊँ भन्दै बुझाएको निवेदनका आधारमा) [ हामीले पाठकहरुको लागि काठमाण्डु टुडे मा छापिएको लेख जस्ताको तस्तै साभार गरेका छौ ]


No comments:

Post a Comment