Sunday, 18 October 2015

गृहमन्त्री बस्नेतद्वारा पदबहाली लगत्तै मातहतका अधिकारीलाई निर्देशन

गृहमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको शान्तिसुरक्षाको प्रभावकारी बन्दोबस्त गर्न र जनतालाई सुशासनको अनुभूति दिन कुनै पनि कसर बाँकि नराख्न मातहतका अधिकारीलाई निर्देशन दिएका छन ।

 गृह मन्त्रालयमा आज आफ्नो पदबहाली गर्दै उनले जनताले प्रत्यक्ष रुपमा अनुभव गर्ने गरी शान्तिसुरक्षाको प्रबन्ध गर्न र जनताको भावना तथा चाहनालाई केन्द्रबिन्दुमा राखेर काम गर्न आग्रह गरे । 

 गृह प्रशासनसँग जनताको सम्बन्ध नङ र मासुको जस्तो हुने भएकाले त्यसलाई ख्याल गर्न र पारदर्शी ढङ्गले जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए । प्रहरी प्रशासन जनताको सेवक भएकाले सोही अनुसार अगाडि बढ्न र जनअपेक्षालाई सम्मान गर्नसमेत उनले आग्रह गरे ।

 गृहसचिव सूर्य सिल्वालले गृह मन्त्रालयको काम कारबाहीका बारेमा मन्त्री बस्नेतलाई जानकारी गराएका थिए । सो अवसरमा गृह मन्त्रालयका उच्चअधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायत अधिकारीको उपस्थिति थियो । जाजरकोटको खलङ्गा कालेगाँउमा २०२८ साल वैशाख १ गते जन्मिएका गृहमन्त्री बस्नेत संविधानसभाको दोस्रो निर्वाचनमा जाजरकोट क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।

 माओवादीले सञ्चालन गरेको दशवर्षे सशस्त्र युद्धमा प्रत्यक्ष रुपमा सहभागी भएका उनी हाल एमाओवादीका स्थायी समिति सदस्य छन । रासस

No comments:

Post a Comment