काठमाडौं, २ कात्तिक । केही समय यता मौन रुपमा बसेका पूर्व राजा ज्ञानेन्द्र शाहले यस वर्षको दशैंको टीका नलगाउने घोषणा गरेका छन् ।नेपालीको दैनिक जीवनमा आइपरेको असहज परिस्थितिका कारण यस वर्षको दशैंको टीका नलगाउने घोषणा गर्दै शाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘’नेपालीहरुको दैनिक जीवनमा आइपरेको असहज परिस्थिति र आवागमनमा उत्पन्न कठिनाइका कारण यस वर्ष विजया दशमीका दिन टीका बक्सने कार्यक्रम नहुने व्यहोरा जानकारी गराइन्छ ।’ ‘परस्पर मिलिजुली एकताका साथ रहिआएको हाम्रो नेपाली समाजमा हाल देखा परेको परिस्थिति नेपाल र नेपालीको अहित हूने तर्फ अघि नबढोस्’, जारी विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘भूकम्पको प्राकृतिक कम्पन एवं अन्योल र अलमलको राजनीतिक उल्झनबाट पीडीत नेपाल र नेपाली जनजीवनको यो कठोर कालखण्ड अव धेरै लम्विनु हुँदैन भन्ने मेरो चाहना रहेको छ ।’
पूर्व राजा शाहद्वारा जारी विज्ञप्तिको पूर्णपाठ
प्यारा नेपाली दिदी वहिनी तथा दाजुभाइ,
नेपाली समाजको मौलिक पहिचान, गौरव र गरिमा प्रस्तूत गर्ने वडा दशैको यो महान् धार्मिक, सांस्कृतिक एवं सामाजिक पर्वका उपलक्ष्यमा म देश भित्र र देश बाहिर रहे वसेका समस्त नेपाली दाजूभाइ दिदीवहिनीहरुमा सूख, शान्ति, समृद्धि र प्रगतिका लागि हार्दिक मंगलमय शूभकामना व्यक्त गर्दछू।
लामो समयको अनिश्चितता र कठिन संक्रमणाकालिन अवस्था पछि, राष्ट्रको मूल कानुनबाट मुलुकमा शान्ति, प्रजातन्त्र, स्थायीत्व र आर्थिक संमृद्धि सँगै आपसी सद्भाव स्थापित हूने छ भन्ने चाहना र धैर्य नेपालीहरुले राख्दै आएका हून् । जनताद्धारा जनताका निम्ति बन्नू बनाईनू पर्ने विधि व्यवस्था आम जनतावाटै अनुमोदित हुनुपर्ने हून्छ। मैले जाने बूझे सम्म राष्ट्रको मूल कानूनमा राष्ट्रका सबै वर्ण, सवै वर्ग, सवै समुदाय र सवै भूक्षेत्र तथा अधिकतर जनताले अगिंकार गरेको प्रचलित परिपाटी एवं सनातनी संस्कृति र गतिविधीलाई नसमेटिँदा स्वभावत त्यसले विग्रह, विवाद र विरोध उत्पन्न गर्दछ । विधि निर्माणा र व्यवस्थापनको महत्वपूर्ण घडीमा देशका जिम्मेवार सुरक्षा पात्र र होनाहार नागरिकहरुको जिउ ज्यान नै जोखिममा पर्नू अझ गम्भिर चिन्ताको विषय हो । परस्पर मिलिजूली एकताका साथ रहिआएको हाम्रो नेपाली समाजमा हाल देखा परेको परिस्थिति नेपाल र नेपालीको अहित हूने तर्फ अघि नबढोस् । समग्र सहभागिता, समस्त सामञ्जस्य र सम्पुर्णाको समावेशी समर्थन नै हाम्रो राज्य व्यवस्थाको आधार बन्नू पर्दछ।
हिमाल, पहाड र तराईमा देखा परेको विद्यमान द्वन्द्व, विग्रह, कचिगंल, अन्योल, असन्तोष र दैनिक जीवनमा आईपरेको कठिन अवस्था एवं अभावको स्थितिमा, मेरो चासो र चिन्ता रहनू स्वाभाविकै हो । आम नागरिकले सधै नै निर्धारित सूलभ वजार व्यवस्था तथा नियमित आवागमनको सूचारु सूविधा पाउनु पर्दछ । तर दशैं, तिहार र छठ जस्ता नेपालीहरुको विशेष चाडपर्वमा समेत वजारमा इन्धन, औषधि एवं खाद्यान्न लगायतका दैनिक उपभोग्य बस्तु कै अभाव हुुनुको साथै नेपाली नागरिकहरुले सहज ढंगले आवागमन गर्न समेत पाईरहेका छैनन् । यसबाट न्युन आयस्रोत भएकाहरुले त झनै मार खप्नू परेको तितो तथ्य हाम्रा अघिल्तिर देखा परेको छ । भूकम्पको प्राकृतिक कम्पन एवं अन्योल र अलमलको राजनीतिक उल्झनबाट पीडीत नेपाल र नेपाली जनजीवनको यो कठोर कालखण्ड अव धेरै लम्विनु हूदैंन भन्ने मेरो चाहना रहेको छ।
राष्ट्रिय स्वार्थ, राष्ट्रियता र राष्ट्रिय समस्याको समाधान गर्न नेपाली मनको सक्रियताबाट अघि बढ्न श्री नवदुर्गा भवानीवाट हामी सवैलाई सत् प्रेरण प्राप्त होस् । यहि मेरो कामना छ।
जय नेपाल
No comments:
Post a Comment