Monday, 19 October 2015

आगलागीबाट दिल्लीमा करिब ३०० घर ध्वस्त

भारतको केन्द्रीय राजधानी दिल्लीको बाहिरी भाग मङ्गोलपुरी क्षेत्रमा आगलागी हुँदा सयौँ घर तथा पसलहरू जलेर नष्ट भएका छन् । अग्नि नियन्त्रण अधिकारीले घटनामा कसैको हताहती भने नभएको जनाएका छन् । दिल्ली अग्नि नियन्त्रण सेवाका अनुसार सोमबार बिहानै २ बजे सुरु भएको आगो २८ बारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान ७ बजेतिर नियन्त्रणमा आएको छ । फोहर प्लास्टिकको थुप्रोबाट सुरु भएको आगोले मङ्गलपुरीको युटी ब्लकमा रहेका झुप्राहरूको वस्तीलाई समातेपछि त्यहाँ रहेका खाना पकाउने (एलपि) ग्यास सिलिण्डरहरू भर्ने पसलमा पुगेको थियो । आगो ग्यास भर्ने पसलमा पुगेपछि एकपछि अर्को गर्दै केही सिलिण्डर पड्केका थिए । यसपछि उक्त स्थानमा ठूलो मुस्लोसहित निस्केको आगो पूरै झुपडीको बस्तीमा फैलिएको बताइएको छ । करिब ३०० परिवारको बस्ती रहेको उक्त स्थानको अधिकांश भू–भागमा बारुणयन्त्र त्यहाँ पुग्दासम्म आगो फैलिसकेको थियो । प्रहरीद्वारा घटनाको छानविन गरिरहेको अधिकारीहरूले जनाएका छन् । सो क्षेत्रमा ठूलो सङ्ख्याका प्रहरीले उद्वारको काम गरिरहेका बताइएको छ । रासस/पिटीआई

No comments:

Post a Comment