प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान जारी भएपछि नयाँ ढङ्गले देशको विकास गर्न नयाँ कार्ययोजना बनाउन सचिवहरुलाई निर्देशन दिएका छन ।सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज प्रधानमन्त्रीद्वारा सचिव, सहसचिव तथा विशिष्ट श्रेणीका अधिकृतलाई निर्देशन दिने क्रममा उनले देश विकासको नयाँ कार्ययोजना कात्तिक मसान्तसम्म तयार गरेर पेस गर्न निर्देशन दिएका हुन ।
कर्मचारीले नयाँ संविधानअनुरुप काम गर्नुपर्ने र कर्मचारीतन्त्रमा राजनीतिकरण हुन नहुने स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले मुलुकमा जटिल र गम्भीर अवस्थामा जारी भएको संविधान कार्यान्वयन सामान्य अवस्था जस्तो लामो समय लगाएर काम गर्ने बेला नभएकाले द्रुत गतिमा काम अघि बढाउनुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री ओलीले नयाँ संविधान जारी भएपछि नयाँ ढङ्गले अघि बढ्न र संविधानको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक कानुन पनि जतिसक्दो छिटो बनाउनुपर्ने बताए ।
प्रशासनिक सेवा प्रवाह र जनताप्रतिको दायित्व बहन नयाँ ढङ्गले गरेर कर्मचारीले नेपालको इतिहासमा कोसेढुङ्गा सावित गर्नुपर्ने भन्दै उनले आपूर्ति व्यवस्था सहज बनाउन र प्रभावकारी बनाउन के–कसरी गर्न सकिन्छ र कानुनले रोकेको भए पनि त्यसबारेमा आवश्यक ध्यान दिनसमेत सम्बन्धित मन्त्रालयका सचिवलाई निर्देशन दिए ।
उनले दुर्गम क्षेत्रमा खाद्यान्न, औषधिजन्य अति आवश्यक कुरा पुगे, नपुगेकामा ध्यान पु-याउनुपर्ने आवश्यकता औँल्याउँदै सरकारले आन्तरिक लगानीलाई बढाएर देशलाई आधुनिकीकरण गर्न योजना बताउनुपर्ने बताए |
कृषिलाई आधुनिकीकरण गरी कृषिका आधारित उद्योग स्थापना गर्नुपर्ने, शिक्षा क्षेत्रअन्तर्गत चिकित्सा क्षेत्रमा आवश्यकता कति हो वा अन्य क्षेत्रमा कति आवश्यक जनशक्तिअनुसार योजना बनाउनसमेत प्रधानमन्त्री ओलीले निर्देशन दिए ।
अस्पताल, विद्यालय, औद्योगिक प्रतिष्ठानमा तालाबन्दी गर्न नहुनेमा जोड दिँदै उनले राजमार्ग कही अवरोध भएमा समेत खुलाउन सम्बन्धित मन्त्रालयलाई ध्यानाकर्षण गराए । रासस
No comments:
Post a Comment