Saturday, 17 October 2015

सुशीललाई दलबाट पनि बिदा !

काठमाडौं ।

 प्रधानमन्त्री निर्वाचनमा पार्टी सभापतिसमेत रहेका सुशील कोइरालाको पराजयलाई कांग्रेसभित्र बरिष्ठ नेता शेरबहादुर देउवाको जितका रूपमा व्याख्या गर्न थालिएको छ । यसबाट हौसिएका देउवाले संसदीय दलको बैठक बोलाएर त्यहाँपनि कोइरालाई हराउने र आफू दलको नेता बन्ने तयारी लागेका छन् । बहालवाला प्रधानमन्त्री र सवैभन्दा ठूलो पार्टीको सभापति पनि भएकाले प्रधानमन्त्रीमा कोइरालाको पराजय स्वभाविक थिएन । त्योभन्दा ठूलो कुरा उनको उम्मेदवारीलाई मधेसमा आन्दोलन चर्काइरहेका मधेसी मोर्चाको समर्थन हुनुले पनि उनलाई भारतको उम्मेदवारको रूपमा चित्रित गर्ने काम गरेको थियो । प्रधानमन्त्रीका अर्का उम्मेदवार एमाले अध्यक्ष केपी ओलीलाई १५ दलको समर्थन रहेको र उनको स्पष्ट बहुमत देख्दादेख्दै आफैँ प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सर्ने कोइरालाको निर्णयलाई लिएर कांग्रेसकै सभासद्ले खुलेआम असन्तुष्टि जनाएका थिए । सहमहामन्त्री पूर्णबहादुर खड्काले त पदबाट राजीनामा नै दिए । कोइरालाले उम्मेदवारी दिँदा कांग्रेस सभासद्का आँखा रसाए । संविधान जारी भएपछि एमालेलाई सरकारको नेतृत्व दिने भद्र सहमति लत्याएका कोइरालाको उम्मेदवारीलाई इतिहासकै महाभूल भएको र संविधान जारी गरेर कमाएको साख एकै रातमा गुमाएको विश्लेषण कांग्रेसभित्रै हुने गरेको छ|

No comments:

Post a Comment