Sunday, 18 October 2015

प्रधानमन्त्रीलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जवाफ पत्र पठायो ...

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले दसैंमा पनि आन्दोलन नरोक्ने अडान लिएको छ । आन्दोलन, आमहड्ताल र नाकाबन्दी सरकारको उपेक्षाको परिणाम भएको मोर्चाको भनाइ छ । ‘हाम्रा मागहरु सम्बोधन नै नभई जनताको ब्यापाक सहभागितामा भइराखेको आन्दोलन रोक्दा,’ शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै पठाइएको पत्रमा भनिएको छ, ‘आन्दोलनकारी जनतामाथि नै विश्वासघाट हुने हुनाले तत्काल आन्दोलन रोक्न सम्भव नभएको व्यहोरा अनुरोध छ ।’ मधेसमा दुई महिनादेखि जारी हड्तालले जनजीवन नराम्ररी प्रभावित भएको छ । आन्दोलनपछि सृजीत नाकाबन्दीले ग्यास, पेट्रोललगायतका इन्धन अभाव जटिल बन्दै भएको छ । प्रधानमन्त्रीले दुई दिनअघि मोर्चालाई आन्दोलन रोकेर वार्तामा आउन अपिल गरेका थिए । मोर्चाले आन्दोलनको निश्चित उद्धेश्य प्राप्त नभएसम्म जारी रहने उदघोष पनि गरेको छ । ‘आन्दोलनको अवधिमा भएको करिव चार दर्जनको सहादत, असंख्य घाइते तथा व्यापक दमनपछि पनि राज्य पक्षको उदासिनताले बाध्य भई आन्दोलन र आमहड्ताल नाकाबन्दीको चरणमा प्रवेश गरेको हो,’ पत्रमा भनिएको छ । मोर्चाले आफूहरु वार्ता र संवादद्वारा नै समस्या समाधानको पक्षमा रहेको दोहोर्‍याएको छ । मोर्चाले तीन दलीय वार्ता टोलीसँग पटक पटक भएको वार्ता स्मरण गराउँदै अब हुने वार्तामा ठोस योजनासहित उपस्थित हुन पनि आग्रह गरेको छ । ‘प्रदेशको सिमांकनलगायत अन्य विषयहरुमा तीन दलको वार्ता टोलीले स्पष्ट दृष्टिकोणका साथ प्रस्तुत हुन नसकेकै कारण अहिलेसम्म वार्ता सकारात्मक दिशातर्फ अगाडि बढ्न नसकेको हो,’ पत्रलाई बिट मार्दै भनिएको छ, ‘आउने दिनमा यी विषयमा सरकार र तीनदल स्पष्ट दृष्टिकोणका साथ प्रस्तुत भएमा वार्ता सार्थक र परिणामुखी हुनेमा हामी विश्वस्त छौं ।’ पत्रमा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरम, नेपालका उपाध्यक्ष लालबाबु राउत, सदभावना पार्टीका महासचिव मनीषकुमार सुमन र तराई–मधेस सदभावना पार्टीका बरिष्ठ नेता रामनरेश रायले हस्ताक्षर गरेका छन् ।

No comments:

Post a Comment