Thursday, 15 October 2015

तलब माग्न जाँदा कतारमा ५ नेपाली महिला पक्राउ

होम कार्की, दोहा ।
 कतारमा आफूलाई अवैध रुपमा राखेको र तीन महिनादेखि तलब नदिएको भन्दै श्रम विभागमा उजुरी दर्ता गरेलगत्तै एउटा कम्पनीले आफ्ना पाँच जना नेपाली महिला कामदारलाई प्रहरी लगाई पक्राउ गराएको छ । कतारस्थित नेपाली दूतावासमा आइपुगेका ती महिलालाई दूतावासले कानुनी बाटो खोज्न श्रम विभागमा पठाएको थियो । विभागमा पुगे लगत्तै अपराध अनुसन्धान विभाग ९सिआइडी० बाट खटिएका प्रहरीले पक्राउ गरेर लगेको जानकारी उनीहरुले नेपाली दूतावासलाई दिएका छन् । पक्राउ पर्नेमा दोलखाकी रनकुमारी श्रेष्ठ, स्याङजाकी पिनकुमारी गुरुङ, मोरङकी मुना लिम्बु, सिन्धुलीकी राजकुमार सकर्नी र पर्वतकी उमा आले छन् । उनीहरु कर्निभल क्लिनिङ कम्पनीको स्पोन्सर ९कफला० मा कतार आएका थिए । त्यस कम्पनीले अर्को कम्पनी अल एखिटियार कम्पनीमा काम लगाएको थियो । ‘हामी पहिला कर्निभल कम्पनीमा काम गर्थ्यौं । झन्डै एक वर्षदेखि अल खतियार अल अरबी कम्पनीमा सारेको थियो’, पीडित मध्येबाट दोलखाकी श्रेष्ठले दूतावासमा उजुरी दिएकी छिन,‘भिसा नलगाई एक वर्षदेखि राखिएको छ । तीन महिनादेखि तलब पनि दिएको छैन ।’ तलब नपाएपछि उनीहरु एक महिनादेखि काममा गएका थिएनन् । श्रम विभाग पुगेको थाहा पाएपछि कम्पनी सञ्चालकले आफू जोगिन गैरकानुनी हैसियतमा बसेको भन्दै उल्टै रिपोर्ट दिएपछि सिआइडी महिला प्रहरी आएर पक्राउ गरेर लिएर गएको पीडितले बताए । दूतावासका प्रवक्ता समेत रहेका श्रम मामिला हेर्दै आएका द्वितीय सचिव नितेश सापकोटाले पीडितले पाउनुपर्ने सबै हिसाबकिताब दिलाएर मात्रै स्वदेश पठाइने बताए । ‘उनीहरुले पाउनुपर्ने हिसाबकिताब दिलाएरै मात्रै पठाइन्छ,ु उनले भने, ‘यसका लागि सम्बन्धित निकायमा छलफल भइरहेको छ ।’ पीडितले भिसा नलगाइदिने कम्पनीमाथि पनि कारबाही हुनुपर्ने माग गरेको छन् । ‘भिसा लगाइ परिचय पत्र बनाइदिनु र तलब पाउँ भन्दा उल्टो प्रहरी लगाएर समातियो,ु श्रेष्ठले भने,‘दूतावासले त्यस्तो कम्पनीलाई कारबाही गर्न कुटनीतिक पहल गर्नुपर्छ ।’ स्थानीय कानुन अनुसार भिसा नलगाई काममा लगाउनु अवैध हो । आन्तरिक मन्त्रालयले भिसा नभएका र अन्य स्पोन्सर भएका कामदारलाई काममा नलगाउन कम्पनीलाई सचेत बनाउँदै आएको छ ।

No comments:

Post a Comment