रौतहट,30 असोज ।दसैँ, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै यहाँस्थित सुरक्षा निकायले नयाँ सुरक्षा योजना लागू गरेको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलन विगत दुई महिनादेखि जारी रहेकै बखत सुरक्षा व्यवस्थामा चुनौती भएको भन्दै प्रशासनले यस्तो व्यवस्था लागू गरेको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले पूर्व–पश्चिम राजमार्ग तथा गौर, गरुडा, कटहरिया, बंकुल, गङ्गापिपरा, समनपुरलगायतका स्थानमा नयाँ सुरक्षा योजना लागू गरिएको बताउनुभयो । पर्वको समयमा चोरी, डकैती, लुटपाट, चोरी तस्करीका साथै सामाजिक अपराधलाई नियन्त्रण गर्ने उद्देश्यले जिल्लामा ९०० भन्दा बढी प्रहरी परिचालन गरिएको छ । चाडपर्वको समयमा राजमार्ग क्षेत्रमा लुटपाटका घटनासमेत हुने गरेकाले त्यसलाई नियन्त्रण गर्न मोबाइल गस्ती परिचालन गर्न सुरु गरिएको प्रहरीले जनाएको छ । रासस
No comments:
Post a Comment