आश्विन २९, २०७२- आयाल निगमले इन्धन वैकल्पिक इन्धन आपूर्तिकर्ताका लागि आहवान गरेकोमा सबैभन्दा कम मूल्यको प्रस्ताव मान्ने हो भने पेट्रोल प्रतिलिटर १ सय ९९ रुपैयाँ र डिजेलको १ सय ८०/८५ रुपैयाँ पर्ने छ। इन्धन ढुवानीका लागि नेपाल आयल निगमले आशयपत्रको सूचना प्रकाशित गरेपछि उक्त प्रस्ताव परेको हो। निगमका अनुसार ढुवानीका लागि २२ कम्पनीले दर्ता गराएका छन्।निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खडकाले संसदका उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिमा उक्त जानकारी दिएका हुन्। तर, उनले यो रकम प्रस्ताव गर्ने कम्पनी र ढुवानी बाटोबारे भने खुलाउन चाहेनन्। भारतीय आयल कर्पोरेसन्स (आईओसी) बाट आयात गरी बिक्री हुँदै आएको प्रतिलिटर पेट्रोलको मूल्य १ सय ४ र डिजेलको मूल्य ८१ रुपैयाँ छ। विभिन्न कम्पनीहरूले गरेको प्रस्तावमा दोब्बरभन्दा बढी मूल्य परेपछि निर्णय गर्न समस्या भएको निगमले जनाएको छ। ‘हवाई जहाजबाट ल्याउँदा दोब्बरभन्दा बढी मूल्य पर्छ। यस्तोमा निगम एक्लैले निर्णय गर्न कठिन भएको हो,’ खडकाले भने।
त्यसका लागि सरकार/मन्त्रिपरिषद्ले निर्देशन (फुकाई) दिनुपर्ने उनको भनाइ छ। ‘हामीले निर्णय गर्दा पछि विभिन्न अप्ठ्राहरू आउन सक्छन्। अख्तियार पनि लाग्न सक्छ,’ उनले भने, ‘बढी मूल्यको सम्बन्धमा विभिन्न निकायलाई जानकारी गराएको छु। अप्ठेराहरू सरकारले फुकाइदिनुपर्छ।’ यस्तै, खरिद ऐनमा पनि १० लाख रुपैयाँको मात्रै इन्धन ल्याउनुपर्ने व्यवस्था रहेकाले अप्ठ्यारो परेको बताए। दर्ता गराउनेमा स्वेदशीसँगै विदेशी कम्पनी पनि छन्। ढुवानीका लागि चासो देखाउनेमा अधिकांश कार्गो सर्भिस र पेट्रोलियमसँग जोडिएका कम्पनीहरू छन्।
नाकाबन्दीले आपूर्तिमा अप्ठेरो भएपछि मन्त्रिपरिषदले हवाई इन्धन, पेट्रोल, डिजेल, मटितेल र खाना पकाउने ग्यास जुनसुकै देशबाट र जुनसुकै मार्गबाट ल्याएर आपूर्ति व्यवस्थालाई सहज बनाउन निगमलाई जिम्मा दिएको थियो। आशयपत्रमा १५ दिनको लागि प्रतिदिन डिजेल करिब २ सय किलोलिटर, पेट्रोल करिब १ सय किलोलिटर, हवाई इन्धन र मटितेल करिब २ सय किलोलिटर र एलपी ग्यास करिब १ सय टन ल्याउन भनिएको थियो। सोही अनुसार निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थ र ग्यास आपूर्तिको लागि आशयपत्र प्रकाशित गरेको थियो। ढुवानीका लागि दर्ता भएका प्रस्तावहरू मूल्यांकन भइरहेको प्रबन्ध निर्देशक खडकाले बताए।
‘सबै प्रस्तावको मूल्यांकन गरिरहेका छौं,’ उनले भने, ‘छिट्टै निष्कर्षमा पुग्ने छौं।’ निगमका अनुसार प्रस्तावमा कोलकाताबाट ल्याइने विकल्पमा भने प्रतिलिटर १ सय ७६ रुपैयाँ पर्ने प्रस्ताव पनि छ। भारतबाटै ल्याउने उक्त प्रस्तावबारे भने उनले खुलाएनन्। यस्तै आसाम हुँदै सिलगुढीबाट ल्याउन सकिने पनि प्रस्ताव परेको छ। तर, ती बाटोबाट आयात भएको इन्धनको मूल्य धेरै महँगो छ। भारतको अघोषित नाकाबन्दीले आयातमा कमी भएपछि मौज्दात न्यून छ। ती इन्धन सुरक्षा निकायलाई मात्रै वितरण गर्ने योजना निगमको छ। जिल्लाहरूबाट आएको सीमित इन्धन भने सर्वसाधरणलाई वितरण गरिएको छ।
‘मौज्दातमा कमी हुन थालेपछि तराईका जिल्लाका लागि आएका केही मात्राको इन्धन उपत्यकमा ल्याएर वितरण गर्दै आएका छौं,’ उनले भने। सरकारको निर्देशनअनुसार निगमले उत्तर तर्फको नाकामा पनि ट्यांकर खडा गरेको जनाएको छ।
ती नाकाबाट ल्याउनका लागि वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्रचार समेत गरेको खडकाले बताए। वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक शम्भु कोइरालाले आईओसीको एकाधिकार हुँदा मुलुकमा समस्या भएको बताए। निगम सञ्चालक समिति सदस्यसमेत रहेका कोइरालाले एकाधिकार तोड्न इन्धन आयातमा विविधीकरण गर्न निगमलाई निर्देशन दिएको बताए।
‘आईओसीले पर्याप्त मात्रामा इन्धन नदिएकाले वितरण गर्न सकेका छैनौं,’ उनले भने, ‘आयातमा विविधीकरण गर्न र उत्तर नाकाबाट ल्याउन सञ्चालक समितिले निगमलाई निर्देशन दिएको छ।’
No comments:
Post a Comment